Thursday, October 11, 2018

पाइल्स, फिस्टुला र फिसर

यी रोगहरुसंग प्रायः मानिसहरु परिचित हुन्छन । किनकी धेरै मान्छेलाई स्वयम, आफ्नो परिवारका सदस्य, साथीभाई वा छर–छिमेकीमा कोही न कोही आक्रांत भएको देखेकै हुन्छन । अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ । यी तीनवटै रोग मलद्वार सम्बन्धी रोगहरु हुन । हुन त धेरै मानिसहरु यी सबैलाई पाइल्स भन्दै झुकी रहेका पनि हुन्छन । तर यी तीन रोगहरुमा भिन्नता छ । आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्श, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ ।

विभिन्न कारणले यी रोगहरु हुने भएता पनि कब्जियत अर्थात दिसा कड़ा हुनु नै यसका मुख्य कारण, बल्झीने कारण र रोग निको नहुने कारण पनि हो । आम मानिसहरुमा यी रोग सम्बन्धी व्यापक भ्रम, डर र जानकारीको कमी देखिन्छ । मानिसहरुले मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउदै गरेका भेटिन्छन ।

मलद्वार भित्र र वरिपरि रक्तशिराहरु हुन्छन । यी रक्त शिराहरु सुन्निने, मासु पलाए झै ठुलो हुने समस्यालाई अर्श अर्थात पाइल्स भनिन्छ । यो भित्री र बाहिरी गरी दुइ प्रकारको हुन्छ । मलद्वार भित्र हुने अर्शमा दिसा कड़ा हुँदा घाउ भई दुखाइ रहित मलद्वारबाट रगत जाने हुन्छ । ठुलो हुदै जाँदा दिसा बस्दा त्यों मासु बाहिर आउने, शुरू शुरूमा आफै भित्र जाने, पछिपछि औलाले धकेल्नु पर्ने वा बाहिर नै बसी राख्ने पनि हुन्छ । बाहिरी अर्श÷पाइल्स भने मलद्वार वरिपरिका शिराहरु सुन्निएर हुने गर्दछ ।

भगन्दर अर्थात फिस्टुला–इन–एनो भनेको दुइ मुख भएको बाटो जस्तो हो जसको भीतरी मुख मलद्वार भित्र वा पक्वाशयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ । पटक पटक संक्रमण भइ बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ । संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्कि सकेपछि केही दिन आराम हुने हुन्छ । तर पछि फेरी संक्रमण भइ यो प्रक्रिया लगातार चलिरहने हुन्छ ।

परिकर्तिका अर्थात फिसर–इन–एनो भनेको दिसा कड़ा भइ निस्किदा मलद्वारको छाला च्यातिनु हो । यसमा अत्यन्त पीड़ा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्को जस्तो रगत देखिने हुन्छ । यस्तो धेरै लामो समयसम्म भइ रहंदा त्यहाँ मासु पनि पलाउने हुन्छ जसलाई सेंटिनल टैग भनिन्छ ।

नेपालको मौलिक चिकित्सा पद्दतिका रूपमा रहेको आयुर्वेद चिकित्सामा यी रोगहरुको अत्यन्त प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रव रहित उपचार उपलब्ध छ । पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जड़ीबूटीयुक्त औषधिहरु एकदम प्रभावकारी र दुष्प्रभाव (साइड इपÞmेक्ट) रहित छन । त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदिको पनि प्रयोग गरिन्छ । आवश्यक परे शस्त्र कर्म अन्तर्गत क्षारसूत्र विधिको  प्रयोग अर्श, भंगन्दर र परिकर्तिकाको सेंटिनल टैगमा गरिन्छ । रोगीलाई पूरै बेहोश गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भइ बस्नु पर्ने, कम समयसम्म औषधि खानु पर्ने, फेरि बल्झिने वा रोग पुनः हुने अवस्था अत्यन्त न्यून हुने भएकाले आजकल यो विधि एकदम प्रचलित छ ।

स्वस्थ मानिसलाई स्वस्थ राख्ने र रोगीको रोग शमन गर्ने यी दुइ मुख्य उद्देश्य रहेको आयुर्वेदमा हरेक रोगको उपचारमा कारण परित्याग प्रथम चिकित्सा सूत्र विधान रहेको छ । तसर्थ रोगको मुख्य कारणका रुपमा रहेको कब्जियत हटाउने उपाय गर्नुका साथै मलद्वारको सर सफाइमा विशेष ध्यान दिनु पर्छ । विशेष गरी दशँैमा माछा, मासु, अण्डा, जाड़ रक्सी, चुरोट, मर मसला, गुरु भोजनको अत्याधिक सेवनका कारण कब्जियत हुन सक्छ । त्यसैले कब्जियत गराउने यी खानेकुराहरुका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लो पिरो, मैदा परिकारहरु जस्तै मम, चाउमीन, बिस्कुट, दही, केरा, पिडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, बाहिरी खानेकुरा, तैलीय पदार्थ, चिसो पेय पदार्थ, चिया कफी आदिको सेवन नगर्ने वा गर्नै परे एकदम कम मात्रामा गर्नुपर्छ । त्यस्तै प्रशस्त पानी, झोल पदार्थ, हरियो सागपात, सलाद,काक्रो, मुला, गाजर आदि, आटाको रोटी, रहर, मूँगको दाल, तर रहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ । कदाचित कब्जियत भई हाले त्रिफला चूर्ण, पंचसकार चूर्ण, त्रिवृत्त चूर्ण, अभयारिष्ट आदि औषधिको प्रयोग अल्प समयसम्म गर्न सकिन्छ । केही समस्या भए चिकित्सकलाई देखाइ अरु औषध–उपचार गराउनु पर्छ । 

डाँ सर्वेश्वर सौरभ, बि.ए.एम.एस
त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्न डाक्टरका रुपमा कार्यरत

No comments:

Post a Comment